भूकम्पपीडितलाई जुम्लाका तीन स्थानीय तहले आर्थिक सहयोग गर्ने

जुम्ला, २१ कात्तिक-जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम जिल्लामा ठूलो धनजनको क्षति भएको छ ।

उक्त दुखद परिस्थितिको सामना गरिरहेका पीडितलाई सहयोगका लागि तातोपानी गाउँपालिकाले राहतका लागि रु दस लाख दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले जानकारी दिनुभयो । यसैगरी नेपाल सरकारको दैवी प्रकोप व्यवस्थान कोषमा रु पाँच लाख भूकम्प प्रभावितका क्षेत्रमा सहयोग गर्ने कार्यपालिकाबाट निर्णय भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायत कार्यमा सहयोग पु¥याउन सिञ्जा गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा केन्द्रविन्दु भएर छ दशमलव चार म्याग्नीच्युटको भूकम्पका कारण त्यहाँ ठूलो धनजनको क्षती भएको छ ।