भूकम्पपीडितका लागि विपद् व्यवस्थापन कोषमा ३१ लाखभन्दा बढी रकम जम्मा

त्रिवेणी (रुकुम पश्चिम) – जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिममा रु ३१ लाख १४ हजार एक सय ४६ रकम जम्मा भएको छ ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समितिको खातामा विभिन्न संस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको हो । विभिन्न २० वटा सङ्घसंस्था तथा व्यक्तिमार्फत सहयोग रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार खातामा अरु पनि रकम जम्मा भएको तर कात्तिक २३ गतेसम्मको बैंक स्टेटमेन्ट तथा नगद बैैंक भौचर, फोन पेबाट उपलब्ध भएको रकम हो । बैंक बन्द भएकाले २३ गतेदेखि पछि जम्मा भएको रकमपछि सार्वजनिक गरिने सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो । स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ ।

जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड, २०७७ र विपद्सम्बन्धी प्रचलित कानुन बमोजिम खर्च हुने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।