पाख्रिनको सांस्कृतिक योगदान, निष्ठा र तपस्या स्मरणयोग्य : प्रधानमन्त्री दाहाल

काठमाडौँ, मङ्सिर ९ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक खुसीराम पाख्रिनको नेपाली क्रान्तिमा सांस्कृतिक योगदान, निष्ठा, त्याग र तपस्या स्मरणयोग्य रहेको बताउनुभएको छ ।

पाख्रिनको छैटौँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टीको नीति र नेतृत्वप्रति पाख्रिनको लगाव र निष्ठा सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो । “पाख्रिनको नेपालको प्रगतिशील साहित्यिक इतिहासमा मौलिक योगदान छ”, उहाँले भन्नुभयो, “सिद्धान्त निष्ठ, उद्देश्यप्रति समर्पित, निरन्तर क्रान्ति र आन्दोलनमा समर्पित हुने, सरलता र सहजता उहाँको गुण हो ।”

पाख्रिनले कुनै खालको दम्भ, अहङ्कार र अहमता नदेखाएको स्मरण गर्दै उहाँले सामान्य, सरल, पाख्रिनको सकारात्मक रूप रहेको बताउनुभयो । “उहाँ गाउने, गीत लेख्ने, सङ्गीत भर्ने, नृत्य सिकाउने पनि आफैँ गर्नुहुन्थ्यो, पाख्रिनमा बहुआयामिक प्रतिभा थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले पञ्चायतविरोधी आन्दोलन, जनयुद्ध र शान्ति प्रक्रियामा पाख्रिनको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै पाख्रिन प्रष्टरुपमा एउटा प्रगतिशील र लोकप्रिय गायकका रूपमा रूपान्तरित हुँदै पार्टी र आन्दोलनसँग जोडिनुभएको बताउनुभयो । “पाख्रिनसँग पहिलो भेटघाट र चिनजान २०३६ सालको ऐतिहासिक जनआन्दोलन वरिपरिबाट भएको हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यस समयमा उहाँ गायनकै कारण जिल्लाभरि स्थापित हुनुभयो ।”

जनयुद्धका क्रममा भारतको प्रवासमा पार्टीलाई सङ्गठित गर्न पाख्रिनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको स्मरण गर्दै उहाँले अखिल भारत नेपाली एकता समाजलाई व्यापक बनाउन र सङ्गठन विस्तार गराउनमा ठुलो योगदान रहेको बताउनुभयो ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका फ्रयाक्सन इन्चार्ज ईश्वरचन्द्र ज्ञवालीले क्रान्ति, मुक्ति, बलिदान र स्वतन्त्रताको पक्षमा पाख्रिनले गीत रचना गर्नुभएको बताउनुभयो । “उहाँले सामन्तको विरोधमा तथा देशप्रेम र राष्ट्रवादी भावना तथा सर्वहारा वर्गको चेतना जगाउन गीत लेख्नुभयो”, उहाँले भन्नुभयो, “पाख्रिन क्रान्तिकारी आशावादका प्रवर्तक तथा प्रगतिवादी सांस्कृतिक आन्दोलनका धरोहर हुनुहुन्थ्यो ।”

सो अवसरमा प्रधानमन्त्री दाहालले पाख्रिनको स्मृतिग्रन्थको विमोचन गर्नुभएको थियो । उक्त स्मृतिग्रन्थमा प्रधानमन्त्री दाहाल, मणि थापा, गुणराज लोहनी, रेनु दाहाल, ईश्वरचन्द्र ज्ञवाली, अमिक शेरचन, कोमलनाथ बराल, प्रकाश सिलवाल, झलकपाणि तिवारीलगायतको संस्मरणात्मक लेख समावेश छ । वि.सं.२००९ सालमा गोरखामा जन्मनुभएका पाख्रिन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । उहाँको २०७४ सालमा निधन भएको थियो ।