नागरिकको वितृष्णा व्यवस्थाप्रति होइन, नेताकै गल्तीको कारण प्रश्न उठेको हो: सांसद सिंह

काठमाडाैं- स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताएका छन् । शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उनको भनाइ थियो ।

‘संसदीय व्यवस्था भनेको उत्कृष्ट व्यवस्था हो । तर यसको गलत प्रयोग भयो । नेताकै गल्तीको कारण अहिले व्यवस्थामाथि प्रश्न उठेको हो,’ सांसद सिंहले भने, ‘जनतामा देखिएको वितृष्णालाई व्यवस्थाप्रतिको वितृष्णा भन्न मिल्दैन, यो नेताप्रतिको वितृष्णा हो ।’

संसद्लाई ठूला दलले आफूअनुकूल प्रयोग गर्ने गरेको र सत्तापक्ष तथा प्रतिपक्ष दुवैतर्फबाट व्यक्तिगत एवं पार्टीगत अनुकूलतामात्रै खोज्ने गरेको उनको बुझाइ छ । ‘सार्वभौम जनताको प्रतिनिधि रहने संसद् पनि सार्वभौम हुनुपर्ने हो । तर संसद् सञ्चालनमा ठूला दल र तीनका मुख्य नेताको मात्रै भूमिका देखियो,’ उनी भन्छन्, ‘सदनमार्फत गर्नुपर्ने निर्णय दलका नेताले गर्छन् । कुनै दलमा जति जना सांसद भए पनि त्यहाँ निर्णय चल्ने भनेको मुख्य नेताको हो । यो आफैँमा गलत परम्परा हो ।’

विधेयकलगायत संसद्मा उठेका विषयमाथि संसदीय दलमा पर्याप्त छलफल नहुने र दलका शीर्षनेताको अनुमतिबिना सांसदहरूले स्वतन्त्ररूपले आफ्ना कुरा संसद्मा राख्नसमेत नपाउने उनको दाबी छ । ‘कुनै सांसद दलको नेतासँग नजिक छ भने उसलाई बोल्न दिइन्छ । नजिक छैन भने बोल्न पनि दिइँदैन । विगतमा मैले पनि यस्तो भोगेको छु र अहिले पनि यस्तै अवस्था छ,’ उनी भन्छन्, ‘यो संसदीय व्यवस्थाभन्दा बढी दलीय व्यवस्था भयो । लोकतन्त्रभन्दा बढी दलतन्त्र भयो । यसले लोकतन्त्रको अर्थलाई समाप्त गर्दै गएको छ ।’

व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्ने मामिलामा सत्तापक्ष र प्रतिपक्ष दुवै मिल्ने गरेको जिकिर पनि सांसद सिंहले गरे । ‘संसदीय व्यवस्थामा सत्तासिन दल र प्रतिपक्ष दल हुन्छन् । तर हामीकहाँ भागबण्डा खोज्ने प्रवृत्तिले सत्तापक्ष र प्रतिपक्ष भन्ने नै देखिएन । संसदीय समितिदेखि नियुक्तिमा भागबण्डा छ । यसले संसदीय व्यवस्थालाई नै अवरुद्ध गरेको छ,’ सांसद सिंह भन्छन्, ‘जबसम्म सत्तापक्ष र प्रतिपक्षका बीचमा स्पष्ट रेखा (क्लियर लाइन) र सीमाङ्कन (डिमार्केसन) हुँदैन, तबसम्म संसदीय व्यवस्था बलियो हुन सक्दैन । तर हामीकहाँ को सत्तापक्ष र को प्रतिपक्ष भन्ने नै भएन ।’

गत निर्वाचनपछिका दुई अधिवेशनमा निकै कममात्र विधेयक पारित भएपछि पछिल्लो समय सांसदहरूको विधायिकी भूमिकामाथि पनि प्रश्न उठ्दै आएको छ । निकै कम विधेयक आउनुमा सरकारको पनि कमजोरी रहेको उनको बुझाइ छ ।

सांसद सिंहका अनुसार अहिले राज्यका कुनै पनि अङ्गले सही ढङ्गले काम गर्न सकेका छैनन् । यही कारण अहिले नागरिकस्तरमा व्यवस्थाप्रति निराशा देखिएको हो ।

राजनीतिमा जवाफदेहिताबिनाको उत्तरदायित्व (रेस्पोन्सबिलिटी विथाउट अकाउन्टबिलिटी) हाबी हुनु पनि अर्को समस्या रहेको सांसद सिंहले बताए ।