भूकम्पपीडितको आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ, ११ मङ्सिर : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पप्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । अस्थायी आवास निर्माणका लागि सरकारले दिने पहिलो किस्ताबापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काममा खटिन निर्देशन दिनुभयो ।

आज सुर्खेतमा कर्णाली प्रदेश सरकारका मन्त्री र सुरक्षा अङ्गका प्रदेश प्रमुखसँगको छलफलमा उपप्रधानमन्त्री खड्काले भूकम्पपछिको पुनर्निर्माणमा स्रोतको कमी नरहेको बताउनुभयो । उहाँले भूकम्पले पु¥याएको क्षतिको तथ्याङ्क आउने बित्तिकै पुनर्निर्माणको काम सुरु गरिने उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री खड्काले भूकम्पमा क्षति भएका विद्यालय, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संरचनाको अस्थायी र स्थायी संरचना सङ्घ सरकारले निर्माण गर्ने गरेर तयारी भइरहेको जानकारी दिनुभयो । “विद्यालयको अस्थायी संरचना निर्माणका लागि आवश्यक बजेट बुधबारको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ”, उहाँले भन्नुभयो, “अन्य सार्वजनिक संरचनाको काम पनि सँगसँगै अघि बढाउँछौँ ।” कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा अङ्गका प्रमुखलगायतको सहभागिता थियो ।