राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, १३ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।