जनतासँग माओवादी रुपान्तरण अभियानले जनतामा नयाँ आशा र उत्साह सञ्चार गरेको छ : महासचिव गुरुङ

खजुरा (बाँके)-नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले जनतामा नयाँ आशा र उत्साह सञ्चार गरेको बताउनुभएको छ ।

रुपान्तरण अभियानअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका भ्रमणमा जानुभएका महासचिव गुरुङले काठमाडौँ फर्किनुअघि माओवादी केन्द्र बाँकेले यहाँ आयोजना गरेको कार्यक्रममा जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल भएको बताउनुभयो ।

यो अभियानले पूर्वदेखि पश्चिमसम्म माओवादी पार्टीलाई सशक्त र बलियो बनाउन सफल भएको जनाउँदै उहाँले अधिकांश जनता र कार्यकर्ताको माग कम्युनिष्ट पार्टीबीच एकता भई शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने रहेको बताउनुभयो ।

महासचिव गुरुङले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको अभियान अगाडि बढिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हजारौँको बलिदानपछि प्राप्त गणतन्त्रविरुद्ध षडयन्त्र सुरु भएको छ, ती सबै षडयन्त्रलाई चिर्न अहिले सबै कम्युनिष्टबीच एकताको विकल्प छैन ।”

पार्टी अध्यक्षको नेतृत्वको सरकारले यसपटक गरेका धेरै राम्रा कामबाट प्रतिगामीहरु आत्तिएको उहाँले बताउनुभयो । वर्तमान गठबन्धन सरकारले जनताको हितमा निरन्तर काम गरिरहेकाले गठबन्धन झन् बलियो हुँदै गएको उहाँको भनाइ थियो ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसीले रुपान्तरण अभियानको समीक्षात्मक धारणा राख्नुभयो । बाँकेका पाँचवटा पालिकाका पार्टीका अध्यक्षले रुपान्तरण अभियानका बारेमा जानकारी गराएका थिए ।