नेपालको हवाइ क्षेत्रलाई इयुको कालोसूचीबाट हटाउन प्रयत्न गरिरहेका छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हवाइ क्षेत्रलाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार निरन्तर प्रयत्न गरिरहेको बताएका छन् ।

बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले नेपालको हवाइ सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकारले पहल गरिरहेको बताएका हुन् ।

रास्वापाले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । त्यसक्रममा प्रधानमन्त्रीले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताएका थिए ।

प्रधानमन्त्रीले भने, ‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको छु। हवाइ सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु।’