पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ- नेपाल आयल निगमले शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु तीन घटाएको छ । निगम सञ्चालक समितिको   बैठकले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः एक सय ६४ रुपैयाँ ५० पैसा, एक सय ६६ र एक सय ६७ रुपैयाँ तोकेको छ । डिजेल तथा मट्टितेल पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५४ रुपैयाँ ५० पैसा, एक सय ५६ र एक सय ५७ कायम गरिएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्ग सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपो रहेका छन् ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल तथा डिजेलको खरिद मूल्यमा क्रमशः प्रतिलिटर तीन रुपैयाँ सात पैसा र तीन रुपैयाँ १६ पैसाले घटेर आएपछि नेपाली बजारमा मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।–