सरकार भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने लक्ष्यका साथ अगाडि बढेको छ :धनराज गुरुङ

मलेखु कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकारको पहिलो ध्येय सुशासन भएको बताउनुभएको छ । सरकारले भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने लक्ष्यका साथ अगाडि बढेको उहाँले स्पष्ट पार्नुभयो ।

धादिङको ज्वालामुखी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशमा चलखेल भइरहेको छ । कोही सरकार ढाल्ने दाउमा छन् । कोही देशको व्यवस्था नै ढाल्दिन्छम भन्नेहरू पनि छन् । हामीले देश र जनताका लागि राजनीति गरेका हौँ । व्यवस्थालाई दोष होइन नेता आफैँ सुध्रिनुपर्छ ।”

देशका विकृति तथा विसङ्गतिहरू निर्मूल पार्न सम्बन्धित मन्त्रालयबाट कानुन बनाएर ल्याउने र विधेयक तयार पार्नुपर्नेमा मन्त्री गुरुङको जोड थियो । अन्य मन्त्रालयले सुशासनका विषयमा विधेयक ल्याए कानुन मन्त्रालयले सहमति दिनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । “मैले मात्र लेख्न मिल्ने भए खुरुखुरु दर्जनौँ कानुन लेख्ने थिएँ । नेपाली जनताको न्याय गर्ने थिएँ,” उहाँले भन्नुभयो ।