मधेश मुस्कुराएमा मात्रै देश मुस्कुराउन सक्छ – विश्वप्रकाश शर्मा

जनकपुरधाम – महामन्त्री विश्वप्रकाश शर्माले मधेश मुस्कुराएमा मात्रै देश मुस्कुराउन सक्ने बताएका छन्। नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा सुरुभएको प्रथम मधेस प्रदेश सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

शर्माले मधेसमा सङ्घीयताका लागि उठेका नारा कांग्रेस नेतृत्वले सुनेकै कारण तत्कालीन अवस्थामा देशमा सङ्घीयता आएको भन्दै यसको रक्षाको दायित्व पनि मधेस र कांग्रेसको काँधमा रहेको बताए । उनले मधेसमा कांगे्रस बलियो भएका बेला देशले कांग्रेसको नेतृत्व पाएको र त्यही तागतमा सधैँ परिवर्तन सम्भव भएको बताए । “अहिले पनि मधेसका गुनासो, असन्तुष्टिहरु छन् । तिनको सम्बोधनका लागि कांग्रेसले समन्वय गर्छ । मधेश मुस्कुराएमा मात्रै देश मुस्कुराउन सक्छ, सामाजिक रुपान्तरणसहितको यात्रा सफल हुनसक्छ । त्यसमा हामी सचेत छौँ”, महामन्त्री शर्माले भने ।