जसले डेढ करोड खर्चेर मन्दिर बनाए

हेटौंडाका एकजना समाजसेवीले एक करोड ५० लाख रुपैयाँको लगानीमा मन्दिर निर्माण गरेका छन्। हेटौंडा उपमहानगरपालिका ७ निवासी दलबहादुर खड्काले सोही वडाको नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गरेका हुन्।

१७ वर्ष वनस्पति घिउ उद्योगमा काम गरेका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गरे। व्यावसायिक कुखुरापालन गर्दा देशको सबैभन्दा बढी दाना बिक्री गर्ने व्यवसायी बनेका उनी बाल्यकालदेखि नै धर्मकर्ममा लागेका हुन्। भगवान्को सेवा गरेपछि आशीर्वाद प्राप्त हुने भएकाले निजी लगानीमा मन्दिर बनाएको उनले बताए।

व्यवसाय गरेर प्रशस्त आम्दानी गरेका खड्काले सामाजिक काम गर्न सकियो भने भावी पुस्ताले सम्झने उनी बताउँछन्। सुरुमा ५० लाखको योजनासहित मन्दिर निर्माणमा जुटेका खड्काले काम गर्दै जाँदा एक करोड ५० लाख रुपैइाँ खर्च भएको बताए। वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरिएको हो। –