खुला विश्वविद्यालयबाट स्नातक गरेका विद्यार्थीले अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी हुन पाउने

काठमाडौँ-: सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाकोसंवैधानिक इजलासले शुक्रबार ती विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट वञ्चित नगर्नु भनी नेपाल कानुन व्यवसायी परिषद्को नाममा आदेश गरेको हो ।

खुला विश्वविद्यालयले तय गरेको कानुनको स्नातक तहको पाठयक्रम सीमित प्रकृतिको भएको र त्यसक्रममा हुनुपर्ने जति विषयवस्तु नभएको उल्लेख गर्दै परिषद्ले खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई अधिवक्ता हुनका लागि आवश्यकपर्ने परीक्षामा सामेल हुन दिएको थिएन ।