राष्ट्रपति रनिङ सिल्डको उपाधि हिमा गाउँपालिकालाई

जुम्ला, ८ पुस : जुम्लाको तातोपानी गाउँपालिका–६ ले आयोजना गरेको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा २० स्वर्ण पदकसहित हिमा गाउँपालिका प्रथम भएको छ । प्रतियोगितामा जिल्लाका पातारासी र गुठिचौरबाहेक छ पालिकाको सहभागिता थियो ।

उक्त प्रतियोगितामा हिमाले विभिन्न विधाका खेलतर्फ २० स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार हिमाले करातेतर्फ १२, एक हजार पाँच सय मिटर दौडमा छात्राछात्रतर्फ दुई÷दुई, तीन हजार मिटर दौड छात्रतर्फ एक, हाईजम, लमजम र त्रिपलम्जमतर्फ १÷१ सहित बीस स्वर्णपदक जितेको गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमख दन्तराज रावतले जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिकाले १२ स्वर्ण पदकसहित दोस्रो भएको आयोजकले जनाएको छ । तेकान्दो र उस्सुतर्फको खेलमा आयोजकले नम्बर नदिने निर्णय गरेपछि नगरपालिकाले अन्य विधाका पुरस्कारसमेत लिएको छैन ।

सिञ्जाले लमजम छात्रातर्फ एक, दुई सय मिटर दौड छात्रातर्फ एक गरी दुई स्वर्णपदक जितेको गाउँपालिका खेल प्रशिक्षक शक्तिसिंह खत्रीले बताउनुभयो । सिञ्जाले दुई सय दुई मिटर दौड छात्रतर्फ एक, एक सय मिटर दौड छात्रातर्फ एक, त्रिपलजम छात्रातर्फ एक गरी तीन रजत र दुई कास्यसहित तेस्रो भएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रा भलिबलको विजेता बनेको कनकासुन्दरी गाउँपालिका प्रतियोगिताको चौथो र छात्रतर्फको भलिबल विजेता बनेको तिला गाउँपालिकाले पाँचौ स्थान हासिल गरेको छ । आयोजक पालिका गाउँपालिकाले कुनै पनि खेलमा प्रथम स्थान हासिल गर्न सकेन ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुने पालिकालाई सिल्ड, प्रमाणपत्र, मेडलसहित पुरस्कार वितरण गरिएको छ । १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शान्त र मर्यादित रुपमा सम्पन्न गर्न तातोपानी गाउँपालिका सफल भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले बताउनुभयो ।

वडाध्यक्ष विशाल खड्काले प्रतियोगिता सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सरोकारवाला निकायलाई धन्यवाद दिनुभयो । आगामी वर्ष १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हिमा गाउँपालिकाले आयोजना गर्नेछ ।