भारतीय विदेशमन्त्री जयशंकर आज काठमाडौं आउँदै, उच्चस्तरीय राजनीतिक भेटवार्ता आजै

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै छन् । उनी भारतीय वायु सेनाको विशेष विमानबाट बिहान १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन् ।

टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारी रहने छन् ।
परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपालबाट भारतमा आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत व्यापारका लागि सम्झौताको तयारी छ ।

त्यस्तै, नेपालमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओलीलगायत नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।