इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा

काठमाडौं । मोरङ बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना भएको भयो ।

मृतकको श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएका कारण अहिले पनि शव अलपत्र अवस्थामा रहेको छ । मृतक बस्नेत अवैधानिक रूपमा बसेको र साथमा राहदानी पनि नभएकाले शव व्यवस्थापनमा ढिलाइ भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

अहिले मृतकका दाजु सम्पर्कमा आई आमाका लागि भए पनि नेपालमा नै शव पठाउन सहयोग मागेको अध्यक्ष श्रेष्ठले बताए । ‘नेपाल सरकारबाट कुनै सहयोग हुँदैन, मृतकको राहदानी पनि छैन, कतैबाट सहयोग पाइँदैन,’ उनले भने, ‘यहाँ इराकमा मृत्यु भएका नेपालीको शव पठाउन हरेकपटक आर्थिक संकलन गर्नुपर्ने अवस्था छ ।

मृतकको शवलाई नेपाल पठाउन एनआरएनएले आर्थिक सहयोग अभियान सुरु गरेको, कुर्दिस्तानमा स्थापित सक्रिय विभिन्न संघसंस्था र सहयोगी भावना भएका सम्पूर्णजनमा आर्थिक संकलन अभियान सञ्चालन गरी मृतकको शव नेपाल पठाउन अनुरोध गरिएको उनले बताए । यो समाचार राजधानी दैनिकमा छ ।