मधेसबाट क-कसले दर्ता गराए उम्मेदवारी ?

महेन्द्रनगर (धनुषा) -राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशबाट पाँचजनाले मनोनयन दर्ता गराउनुभएको छ ।सोमबार जनकपुरधामस्थित निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमासत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेस र जसपाबाट एक÷एक जना, नेकपा (एमाले)बाट दुई जना र सत्ता गठबन्धमै रहेको जनमतबाट छुट्टै एक जनाले उम्मेदवारी दर्ता गराउनुभयो ।

कांग्रेसबाट अन्यतर्फ आनन्दप्रसाद ढुङ्गाना र महिलातर्फ जसपाकी पूजा चौधरीले मनोनयन दर्ता गराउनुभएको मधेस प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीले बताउनुभयो । एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

साथै सत्ता गठबन्धन घटक जनमत पार्टीले मधेस प्रदेशमा अन्य समूहमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ । जनमतबाट रामशङ्कर महासेठले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।प्रदेशमा प्रदेशसभा सदस्य एक सय सात र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख दुई सय ६७ गरी जम्मा तीन सय ७४ मतदाता छन् ।