उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ ।उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गरेसँगै उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको जनाएको छ । प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सबाट युगान्डातर्फ प्रस्थान गरेका हुन् ।सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्नेकार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुनेछन् ।