विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरीः सभापति लामिछाने

भरतपुर (चितवन)-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरी रहेको बताउनुभएको छ । सनिबार चितवन र तनहुँ जोड्ने ठिमुरा पुलको सनिबार स्थलगत निरीक्षणपछि उहाँले सबैको सहकार्यबाट मात्र विकास निर्माण समयमै सम्पन्न हुनसक्ने धारणा राख्नुभयो । उहाँले कुनै दलगत स्वार्थ नहेरी विकास निर्माणमा सबैले पहल गरे सफल हुनेमा उहाँको जोड थियो ।

ठिमुरा पुल बन्न १० वर्ष लाग्नु लज्जाको विषय भएको बताउँदै उहाँले यसबारे आफूले खबरदारी गर्दै आएको दाबी गर्नुभयो । “देशमा विकास आयोजना निकै सुस्तगतिमा निर्माण भइरहेका छन् । ठिमुरा पुल एउटा उदाहरण हो । यो पुल बन्न १० वर्ष कुर्नुपर्ने थिएन”, उहाँले भन्नुभयो । लामिछानेले ठिमुरा पुल निर्माणका लागि यसअघिका सांसद र स्थानीय जनप्रतिनिधिले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले चितवनको सडक निर्माण, खानेपानी र विकासका आयोजनामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “पुल, बाटो बनाउन धर्ना र पैदल हिँडेर ध्यानाकर्षण गराउनुपर्ने अवस्था आउनु राम्रो होइन । विकसित देश अन्तरिक्षको विकासमा प्रतिस्पर्धा गर्दैछन् । हामी पानी चाहियो, सडक बन्नुपर्‍यो भनेर जुलुस, धर्ना र ध्यानाकर्षण गर्दैछौँ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् तनहुँ क्षेत्र नं १ का सांसद डा स्वर्णिम वाग्लेले आफूहरू देश बनाउने खाका लिएर हिँडेको बताउनुभयो । उहाँले आयोजना अलपत्र हुनु राम्रो प्रणाली बन्न नसक्नुको परिणाम भएको बताउनुभयो ।