अमेरिका र बेलायतद्वारा हूथी समूहविरुद्ध यमनमा अर्को चरणको आक्रमण

बीबीसी । विश्व व्यापारको महत्वपूर्ण पाटो रहेको रेड सीस्थित व्यापारिक पानीजहाज ओहोरदोहोर गर्ने क्षेत्रमा हूथी विद्रोहीहरूले आक्रमण गरेका कारण अमेरिका र ब्रिटेनले पुनः संयुक्त कारबाही थालेको बताएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार यमनमा हूथी लडाकु समूहका आठवटा ठाउँमा आक्रमण गरिएको छ । ती ठाउँमध्ये एउटा भूमिगत हतियार भण्डारणस्थल तथा हूथीहरूले क्षेप्यास्त्र प्रहार गर्न प्रयोग गर्ने स्थान र रेडार प्रणाली पनि छन् ।

हूथीहरूको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा ठूल्ठूला विस्फोटन भएको आवाज सुनिएको थियो इरानको समर्थनप्राप्त हूथी समूहले इजरेलविरुद्ध प्यालेस्टिनीहरूप्रति समर्थन जनाउन व्यापारिक पानीजहाजहरूमा आक्रमण गर्दै आएका छन् ।

यसबीच अमेरिका, यूके तथा अन्य छ देशले संयुक्त वक्तव्य जारी गर्दै व्यापारका निम्ति स्वतन्त्र तथा भयरहित आवाजजावत गर्न पाउने विषयमा अनि तिनलाई हमलाहरूबाट रक्षा गर्ने विषयमा प्रतिबद्धता दोहोर्याएका छन् । जनवरी ११ पछि अमेरिका र ब्रिटेनले हूथीविरुद्ध गरेको यो दोस्रो संयुक्त आक्रमण हो । यी आक्रमणमा अस्ट्रेलिया, बाहरेन, क्यानडा, र द नेदरल्यान्ड्सको समर्थन रहेको जनाइएको छ ।

सोमबार भएको संयुक्त आक्रमणमा खास गरी अमेरिकी युद्धपोत यूएसएस आइजनहावरमा रहेका लडाकु विमानहरू सहभागी भएका थिए । तिनलाई साथ दिन ब्रिटेनका चारवटा आरएएफ टाइफुन तथा भोइजर ट्याङ्क खटाइएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ ।

तिनले सानास्थित हवाई अड्डा वरपरका दुईवटा सैन्य क्षेत्रका कैयौँ निसानामा पेभवे–आईभी नामक बम खसालेको रक्षा मन्त्रालयले बताएको छ । पछिल्ला आक्रमणहरूबारे ब्रिटिश संसद्का सभामुख सर लिन्ड्से होयल वा विपक्षी नेता सर केयर स्टार्मर कसैलाई पनि पूर्वजानकारी नदिइएको बताइएको छ।