लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने दुईजना चालक पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने दुईजना चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौंको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको हो ।

बा३ख १४८४ नम्बरका माइक्रो चालक उदयपुरको त्रियुगा नगरपालिका ९ का ३० वर्षीय दिनेश क्यापछाकी र लु२ख ८३४ नम्बरका ट्रक चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका ६ का ३३ वर्षीय सुमित रानालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।