जथाभावी सवारीसाधन जाँच गर्दा चालक र यात्रुलाई समस्या,विश्रामस्थलमा मात्र जाँचको व्यवस्था मिलाउन आग्रह

काठमाडौँ-देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विश्रामस्थलमा मात्र सार्वजनिक सवारीसाधन जाँचको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई भेटेर जथाभावी सवारीसाधन जाँच गर्दा चालक, सहचालक र यात्रुलाई समस्या भएको भन्दै विश्रामस्थलमा सवारी जाँचको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

“राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रेका छन्, बिग्रेका सडकमा ठाउँठाउँमा सवारीसाधन जाँच गर्दा समयमा गन्तव्यमा पुग्न ढिला हुने गरेको छ, त्यसैले निश्चित स्थानमा जाँचको व्यवस्था गर्नुपर्छ”, महानिरीक्षक कुँवरलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

दुर्घटना न्यूनीकरणका लागि मापदण्ड विपरित रुट इजाजत विना सञ्चालन भएका सवारीसाधन रोक लगाउने व्यवस्था मिलाउनुपर्ने महासङ्घका महासचिव डेकनाथ गौतमले बताउनुभयो । महासङ्घले बिपी राजमार्गलगायतका मार्गमा टाइम कार्ड लगाउनुपर्ने, दुर्घटना न्यूनीकरणका लागि प्रदेश, जिल्लास्तरीय सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्नसमेत आग्रह गरेको छ ।

यसैगरी, दुर्घटना पश्चात सवारी साधनलाई २४ घण्टाभित्र सम्बन्धित कम्पनी वा व्यवसायीले पाउने कानूनी व्यवस्थालाई कडाइका साथ लागू गर्ने व्यवस्था मिलाइदिन समेत महासङ्घले अनुरोध गरेको छ । सवारी ऐन, २०४९ विपरित दर्ता भएका तर प्रयोजन विपरित सार्वजनिक सवारीसाधन सरह यात्रु र मालसामान ओसारपसार गर्ने र गराउने कार्यलाई रोक लगाउन अनुरोध गरिएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले देशभर हुने सवारी दुर्घटनालाई रोक्नका लागि ‘टास्क फोर्स’ निर्माण गरी यातायात व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।