वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको हो ।

बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गरेको छ । बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।