पर्यटनमन्त्री किरातीद्वारा वायुसेवा निगमको निरीक्षण

काठमाडौँ- नेपाल वायुसेवा निगमको पछिल्लो अवस्थाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी लिनुभएको छ ।मन्त्री किरातीले बिहीबार नयाँ सडकस्थित निगमको केन्द्रीय कार्यालयमा पुगेर सेवा प्रर्वाहबारे निरीक्षण गर्नुभएको हो । उहाँले निगमका टिकट बिक्री कक्ष तथा प्रशासनिक कार्यकक्षको स्थलगन अनुगमन गर्नुभएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

सो अवसरमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराउनुभएको थियो । उक्त अवसरमा मन्त्री किरातीले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नडराइकन इमान्दारीपूर्वक कार्य गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । निरीक्षणका क्रममा पर्यटनमन्त्री किरातीले निगमका गतिविधि, उडान, कर्मचारी, व्यवस्थापनलगायत विद्यमान समस्या तथा समाधानका उपायबारे छलफल गर्नुभएको थियो ।