‘गोर्खा वारियर’ लाई मेयर हर्क साम्पाङको साथ

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल भएको चलचित्र ‘गोर्खा वारियर’ लाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले साथ दिएका छन् । पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको चलचित्रमा गोर्खालीको वीरताको गाथा समेटिएको छ । सोही कारण मेयर राईले यसको महत्वलाई बुझ्न भिडियोमार्फत आग्रह गरेका छन् ।

उनले आफूलाई कला र साहित्यलाई माया गर्ने व्यक्तिको रुपमा परिचय गराउदै ‘गोर्खा वारियर’ ले ब्रिटिस गोर्खामा रहेर युद्ध लडेका बहादुर नेपालीको कथा चित्रण गर्ने बताए । ‘यो चलचित्र अत्यन्त राम्रो बनेको छ भन्ने सुनेको छु । वीर गोर्खालीको गाथा र इतिहास बुझनका लागि यो चलचित्रलाई हेर्न म आग्रह गर्न चाहन्छु । म पनि समय मिलाएर हेर्दैछु’, उनले भने ।

उनले नेपालमा अन्य विविध विषयमा चलचित्र बनेता पनि गोर्खालीको विषयमा पहिलोपटक बनेकाले निर्माण तिम्लाई धन्यवाद दिए । मेयर राईले नेपाली चलचित्र प्रति देखाएको मायाले आफूसहित सम्पूर्ण टिमलाई हौसला मिलेको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए ।

‘मेयर साबले दिनुभएको शुभकामनाले हामीलाई उत्साहित बनाएको छ । किनकि यो सबै नेपालीसँग जोडिएको वीर गोर्खालीको कथा हो । यसमा हाम्रो पुर्खाको कथा र व्यथालाई समेटेका छौँ’, निर्देशक चाम्सले भने ।

सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतले यो चलचित्र नेपाल भन्दा विदेशमा बढी चर्चित छ । गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका मिडियाले यसलाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन् ।

विदेशी चलचित्र उद्योगमा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । मिलनले चलचित्रलाई वास्तविक युद्धको शैलीमा निर्माण गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए ।

युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । चलचित्रको एसोसियट वितरकको रुपमा रीच इन्टरटेनमेन्ट जोडिएको छ ।