सूर्यदर्शन सहकारी पीडितले रवि लामिछानेविरुद्ध दिए प्रहरीमा जाहेरी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको छ । सोमबार पीडितहरूले लामिछानेविरूद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।

पीडितहरुबाट लामिछानेसहित दीपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन र १५ कम्पनीहरूविरूद्ध जाहेरी आएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनबहादुर श्रेष्ठले जानकारी दिएका छन् । उनले यसमा पूरक जाहेरी आएको बताए । यस विषयमा पहिल्यै दर्ता भएर अनुसन्धान जारी रहेकाले अहिले नयाँ जाहेरी दर्ता गर्नु नपर्ने प्रहरीले बताएको छ ।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिका सदस्यहरू यसअघि पनि पटकपटक लामिछानेविरूद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगे पनि प्रहरीले लिएको थिएन । सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ।