पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल कलेज उपचारका क्रममा सोमबार राति बुढाथोकीको निधन भएको हो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढाथोकीको निधन भएको जानकारी दिए । नेता बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए। पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए ।

‘सेतो बाघ’ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिकाका बासिन्दा बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए । बुढाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भइसकेका थिए । बुढाथोकीका दुई छोरा र एक छोरी छन्। बुढाथोकीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज झापा जिल्ला पार्टी कार्यालयमा राखिने बताइएको छ।