ए सुन माया भन्दै आए समिक्षा र डिल्लीराम

काठमाडौं । गायिका समिक्षा अधिकारी र डिल्लीराम अधिकारीको स्वर रहेको रहेको ए सुन मायाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भोजपुरको अरुण गाउँपालिका – ७ का पूर्ववडाअध्यक्ष तथा गत स्थानीय चुनावमा पालिका अध्यक्षमा माओवादीबाट उम्मेदवार बनेका अधिकारीको यो तेस्रो सांगीतिक कोसेली हो । ए सुन माया मा अधिकारीले अन्तरजातीय प्रेमको पक्षमा वकालत गरेका छन् । अझै पनि विद्यमान प्रेम र विवाहमा जातभात तगारोविरुद्ध आफूले गीतमार्फत् सन्देश दिन खोजेको उनले बताए ।

लोक दोहोरीको रूपमा प्रस्तुत नयाँ गीतमा अर्जुन खड्का र जुना कार्कीको मोडलिङ छ । मनिपाल राईको संगीत रहेको गीतको कोरियो तथा निर्देशन सुरेश पाण्डेले गरेका छन् भने एरेन्ज राजु कार्कीको छ । कालुपाँडे समाधीस्थल नजिकै छायांकन गरिएको उक्त म्युजिक भिडिओ एनपी म्युजिक मिडिया युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

‘खाडीको लाहुरे’ मार्फत् गायनमा डेब्यू गरेका अधिकारीले दोस्रो प्रस्तुतिका रूपमा नर्कको मलामी ल्याउँदै पूर्वराजाको सक्रियता, राजनीतिक दल र नेताको गलत कार्यशैलीको कटाक्ष गरेका थिए ।