आजीवन मासिक भत्ता पाउँदै ओलम्पियन

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने पक्का भएको छ ।
राखेपद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा शुरुआतका रुपमा ओलम्पियनलाई साउनको भत्ता उपलब्ध गराइयो । असी ओलम्पियनलाई जनही रु तीन हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ मा टोकियोमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन शुरु गरेको थियो ।
त्यस्तै पहिलो दक्षिण एसियाली खेलकूद (साग) देखि १२ औँ सागका स्वर्ण विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरियो । चौरानब्बे ९४ स्वर्ण पदकधारीलाई मासिक रु पाँच हजारका दरले कूल रु ४० लाख वितरण गरियो । विसं २०७४ मंसिरदेखि २०७५ असारसम्म जम्मा आठ महिनाको मासिक रु पाँच हजारका दरले दिनुपर्ने पुरस्कार वितरण गरिएको हो ।
त्यस्तै एसियाली खेलकूदका पदक विजेतालाई पनि २०७४ मंसिरदेखि २०७५ असारसम्म आठ महिनाको एक पदकका लागि रु पाँच हजारका दरले रकम प्रदान गरिएको थियो । आठ जनालाई जम्मा रु चार लाख ४० हजार वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता पुरस्कृत भए । ४१२ खेलाडीलाई जम्मा रु १९ लाख २५ हजार प्रदान गरियो ।
त्यसैगरी राखेपको आयोजनामा भएको राखेप च्याम्पियनसिपका विभिन्न खेलका उत्कृष्ट पुरुष र महिला खेलाडी पनि पुरस्कृत भए । गत माघको पहिलो साता सम्पन्न प्रतियोगितामा विभिन्न ३० खेल समावेश गरिएका थिए । तीस खेलकै उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही रु १५ हजार पाए । तेक्वान्दोको हकमा भने ग्योरोगी र पुम्सेमा छुट्टै उत्कृष्ट पुरुष÷महिला खेलाडी चयन गरिएकाले चारै जनालाई जनही रु सात हजार ५०० नगद पुरस्कार दिइयो ।

श्रष्टा सम्मानित 
प्रदेश नं ५ मा मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकूदको लोगो र मस्कट डिजाइनर तथा गीत र नाराका रचनाकारलाई पनि सम्मान गरिएको छ । लोगो र मस्कट सन्तोष विष्टले डिजाइन गरेका थिए । विष्टलाई लोगोका लागि रु ४५ हजार र मस्कटका लागि रु ३५ हजार नगद पुरस्कारसहित सम्मान गरियो ।

त्यस्तै गीत रचनाकार नारायण खतिवडालाई रु २५ हजार र नारा रचनाकार राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई पुरस्कृत गरियो । सदस्य–सचिव विष्टले भने आफ्नो पुरस्कार रकम राखेपकै खातामा जम्मा गर्ने बताउनुभयो । सोही अवसरमा संगीतकार वसन्त सापकोटालाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

पदक विजेता र पत्रकार सम्मानित 
सोही कार्यक्रममा युवा तथा खेलकूद मन्त्रालयले पाँच पदक विजेता खेलाडीसहित दुई खेल पत्रकारलाई सम्मान गरेको थियो । खेलकूद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ बमोजिम आव २०७४÷७५ मा भएका अन्तर्राष्ट्रिय च्याम्पियनसिपका पदक विजेता पाँच खेलाडीलाई नगदसहित सम्मान गरिएको हो ।
कम्बोडियामा भएको विश्व खुन खेमर च्याम्पियनसिपका स्वर्ण पदक विजेता अनिशा खड्का र राहुल थोकर लामालाई जनही रु एक लाख नगदसहित सम्मानपत्रद्वारा सम्मान गरियो । मंगोलियामा भएको नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपकी रजत विजेता ननिता महर्जन रु ६५ हजार तथा सोही प्रतियोगिताका कांस्य पदक विजेता रुजेश शाही रु ३५ हजार नगदसहित सम्मानित भए ।
त्यस्तै दक्षिण कोरियामा भएको ५१औँ एसियाली पुरुष भारोत्तोलनका कांस्य पदक विजेता कमल भण्डारीलाई रु ३५ हजार नगदसहित सम्मान गरियो । सम्मानित हुने पत्रकारमा नेपाल टेलिभिजनका राजु सिलवाल र बिबीसी नेपाली सेवाका खेल पत्रकार निरञ्जन राजवंशी रहेका छन् । दुवैलाई जनही रु ५० हजारसहित सम्मानपत्र प्रदान गरियो । उनीहरुलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, खेलकूद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले सम्मान गर्नुभयो ।