५० प्रतिशत निर्माण सकियो खोरुंगा जलविद्युतको

तेह्रथुम । लगातारका वर्षाका कारण काम गर्न कठिनाइ भइरहेको साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको थालेको छ । तोकिएको म्यादभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्य लिर्इ तीव्र गतिमा काम भइरहेको र अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भएको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ ।

आयोजनास्थल मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । प्रवद्र्धक कम्पनी तेह्रथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीले आयोजनाको निर्माणस्थलमा इन्टेक, पाइपलाइन एक्जावेसन, पानीट्यांकी सोलिङ, कनेक्टिङ प्यानल र पावरहाउसका लागि भवन निर्माणलगायत काम तीव्र गतिमा भइरहेको बताउनुभयो ।

रु. एक अर्ब ३७ करोड लगानीमा निर्माण हुने आयोजना निर्माणको काम धौलागिरि र खड्काकृष्ण जेबी कन्सट्रक्सनले जिम्मा लिएका छन् । प्रवद्र्धक कम्पनीको शनिबार काठमाडौँमा भएको विशेष साधारणसभामा प्रबन्धक सञ्चालक डाँगीले अहिलेसम्मको प्रगति सार्वजनिक गर्दै म्यादभन्दा अगावै काम सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी गराउनुभयो । २०७६ को पुस १ सम्ममा काम सम्पन्न गर्ने म्याद भए पनि २०७६ को असारमै काम सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको उहाँको भनाइ थियो ।

साधारणसभामा तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी, पूर्वमन्त्री पर्शुराम खापुङ, पूर्वराज्यमन्त्री सीता गुरुङलगायतले आयोजनालाई शीघ्ररुपमा सम्पन्न गर्न सुझाव दिनुभयो । जिल्लावासीको लगानीमा बन्ने उक्त आयोजनाको काम शुरु भएसँगै स्थानीयले रोजगारीसमेत पाएका छन् । आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक र जनता बैकले रु एक अर्ब लगानी गर्ने भएपछि काम भइरहेकोे कम्पनीका अध्यक्ष भुपतिलाल श्रेष्ठले बताउनुभयो ।