‘सडक २’कि बलिउड अभिनेत्री क्रिसन दुबईको जेलमा

मुम्बई, ४ वैशाख । । बलिउड अभिनेत्री क्रिसन परेरा लागुऔषध मामलामा यतिबेला दुबईको जेलमा छिन् । ‘सडक २’ र ‘बाटला हाउस’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई अरबका प्रहरीले युएईको शारजाह सेन्ट्रल जेलमा राखेका छन् ।

करिब दुई हप्ताअघि प्रहरीले उनलाई लागुऔषधको आरोपमा पक्राउ गरेको थियो । परिवारका अनुसार शारजाह विमानस्थलमा ओर्लानासाथ उनीसँग कसैको सम्पर्क भएको थिएन । त्यसको ७२ घण्टापछि मात्र भारतीय वाणिज्य दुतावासले उनी पक्राउ परेको खबर परिवारलाई दिएको थियो ।

छोरी पक्राउ परेपछि परिवार विक्षिप्त छन् । उनीहरुले छोरीलाई फँसाइएको आरोप लगाएका छन् । ‘हामी दुई साता यता मानसिक यातनाबाट गुज्रिरहेका छौं । मेरो बहिनी निर्दोष छिन् र उनलाई लागुऔषध मामलामा फँसाइएको छ । थाहा छैन मानिसहरु उनीबाट के चाहन्छन् । अब के गर्ने भन्ने हामीलाई थाहा पनि छैन’, उनका दाई केविनले भनेका छन् ।

उनकी आमा प्रेमिला परेराले आफ्नो छोरीमाथि रवी नाम गरेका व्यक्तिले ठगी गरेको आरोप लगाएकी छन् । ‘त्यो मान्छेले छोरीको टिमलाई एक वेब सिरिजमा काम गर्नका लागि खबर गरेको थियो । एक दुई वटा मिटिङ पछि ऊ दुबईमा अडिसनका लागि गएकी थिइ । त्यसपछि रविले अप्रिल १ मा मुम्बईको अन्तर्राष्ट्रिय विमानस्थलको एक कफी शपमा भेट्न बोलाएको थियो ।

त्यसपछि अडिसनको हिस्सा भनेर एक ट्रफी दिएको थियो । उसले त्यो ट्रफी घरमा ल्याई, जहाँबाट लागुऔषधको गन्ध आइरहेको थियो’, उनले भनेकी छन् ।क्रिसनको परिवार छोरीलाई जेलबाट छुटाउन जतिसुकै रकम दिन तयार छन् । उनीहरुले दुबईको एक स्थानीय वकिल भाडामा लिएका छन् ।