सेटमा फाटेको जुत्तामा पुग्छन् सलमान

मुम्बई, ६ वैशाख । बलिउड अभिनेता सलमान खान हालका दिनमा फिल्म ‘किसी का भाई किसी की जान’का कारण चर्चामा छन् । अप्रिल १२ मा रिलिज हुने फिल्मका लागि उनका फ्यान ब्यग्र प्रतिक्षामा छन् ।फिल्ममा उनले शहनाज गिलसँग रोमान्स गर्दैछन् । फिल्मका अन्य दुई कलाकार पलक तिवारी र जस्सी गिलका अनुसार फिल्मको सुटिङ सेटमा अभिनेता सलमान फाटेको जुत्ता लगाउँछन् ।

फिल्म प्रमोसनमा व्यस्त पलक र जस्सीले हालै मिडियासँगको अन्तरवार्तामा सलमानले सुटिङ सेटमा गर्ने गतिविधिबारे धेरै कुराको खुलासा गरेका थिए ।‘सलमान आफूलाई ग्राउण्डेडमै राख्न चाहन्छन् । उनीसँग काम गर्दा हामीलाई कुनै सुपरस्टारसँग काम गरिरहेको छु जस्तो लाग्दैन । सलमान सेटमा चप्पल र सर्ट लगाएर आउँछन् । सलमानसँग धेरै सम्पत्ति भए पनि उनी जमिनसँग जोडिन चाहन्छन् । उनी कैयौं पटक फाटेको जुत्तामा फिल्मको सुट गर्छन्’, दुवैले भनेका छन् ।

यो फिल्म सय करोड बजेटमा निर्माण भएको हो । सलमानको यसै वर्ष ‘टाइगर ३’ फिल्म पनि रिलिज हुँदैछ । फिल्ममा कटरीना कैफ र इमरान हासमी पनि देखिँदैछन् ।