न्युजल्याण्डबाट गीतकार नमिता दवाडीले ल्याएको ‘मलाई बाँच्न सिकायौ तिमीले’को चर्चा

काठमाडौँ । गीतकार नमिता दवाडीले आफ्नो चर्चित गीत ‘परिचय ’को सफलतासँगै अर्को गीत मलाई बाँच्न सिकायौ तिमीलेको भिडियो सार्वजनिक गरेकी छिन् ।

लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ । मिक्सिगं तथा मास्टरिगं पनि हेमन्तकै रहेको भिडियोले प्रेम, वियोग र त्यसपछि पुन प्राप्त भएको मायाको कथालाई देखाएको छ । एक प्रेमील जोडीले कहिल्यै नछुट्टीने वाचा कसम खाएको र मायामा उतार चढाव आएको दृश्यलाई निर्देशक मुनाल शिशिर कोइरालाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

जसमा अभिनेता शिशिर भण्डारी र मोडल अनुजा सिंहको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा शिशिर र अनुजा दुवै कलाकार गज्जबसँग खुलेका छन् । भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।

हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ बोलका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको कविता संग्रह ‘जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ ।

त्रिवीबाट अँग्रेजीमा स्नातोकोत्तर दवाडी नेपालमा रहँदा लामो समय अध्यापन पेशामा संलग्न रहिन् । न्युजिल्याण्डमा परिवारसहित रहँदै आएकी नमिताले त्यहाँ इन्टरनेशनल बिजनेश इनोभेसन लेभल सेभन गरेसँगै सुपरमार्मेटमा ड्युटी म्यानेजरको रुपमा कार्यरत छिन् । सार्वजनिक गीत गीतकार दवाडीकै अफिसियल च्यानल नमिता दवाडी अफिसियलबाट बजारमा आएको हो । हेर्नुहोस् यो मनछुने गीतको भिडियो