देशको अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताउनुभएको छ । आज साँझ काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताउनुभयो ।

लोकार्पणमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “जतिबेला म दोस्रोपटक प्रधानमन्त्री थिएँ । त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो । संविधानप्रति विभिन्न विमति र असन्तुष्टि थिए । मधेस आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन । सङ्घीय ढाँचाको टुङ्गो लगाउन बाँकी नै थियो । तर, निकै मेहनत गरियो, परिणाम पनि राम्रो आयो ।”

उहाँले थप्नुभयो, “सङ्घीयताको सफल अभ्यास गरियो । स्थानीय तहदेखि केन्द्रसम्मका चुनाव भए । आन्दोलनरत दल पनि सहमतिको प्रक्रियामा आए । अर्थतन्त्रमा राम्रो सुधार आयो । ७ दशमलव ५ अङ्कको आर्थिक वृद्धिदर हासिल गरियो, विद्युत्भार कटौती अन्त्य भयो । ठूला आयोजनामा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो । यसपटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ ।”

देशको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिले अर्थतन्त्रमा क्रमशःसुधार आउँदैछ । समष्टिगत आर्थिक परिसूचक सकारात्मक छन् । विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै छ । अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदैछ । तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउँछ भन्नेमा म विश्वस्त छु ।”

अयोधीप्रसाद यादवको जिवनीबारे प्रधानमन्त्रीले भन्नुभयो, “मधेस आन्दोलनमा भएको, संविधानप्रति असन्तुष्ट रहेको परिस्थितिमा अयोधीजी प्रमुख निर्वाचन आयुक्त हुनुभयो । उहाँ एकदम इमान्दार र प्रतिबद्ध भएर नलागेको भए वडादेखि राष्ट्रपतिसम्मको निर्वाचन गर्न सजिलो थिएन । तर उहाँले गराउनुभयो । पुस्तकमा उहाँले जेजति कुरा लेख्नुभएको छ, जस्ता प्रसङ्ग उठाउनुभएको छ, त्यहाँ कुनै ढोङ छैन, बरू इमान्दारिता छ ।”

लोकार्पण कार्यक्रममा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव, लेखक डा यादवलगायतका वक्ताले पुस्तकका विविध पक्षमाथि चर्चा गर्नुभएको थियो ।–