नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी भागे कि भगाइए ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा प्रत्यक्ष तानिएकामध्ये टोपबहादुर रायमाझी सबैभन्दा ‘हाई प्रोफाइल’व्यक्ति हुन् । पूर्वउपप्रधानमन्त्री रायमाझी नेकपा एमालेका सचिव पनि छन् ।

उनी अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन् । शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । प्रहरी संयन्त्रले उनलाई ६ दिनदेखि खोजिरहेको छ ।

प्रहरी प्रधान कार्यालयले मातहतका ७७ वटै जिल्ला कार्यालयलाई रायमाझीलाई पक्राउ गर्न पत्राचार गरिसकेको छ । रायमाझीलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि विशेष टोली परिचालन गरेको छ । उनी भारत गएर लुकेको प्रहरी अनुमान छ ।

शरणार्थी प्रकरणमा रायमाझीको संलग्नताबारे बलियो प्रमाण फेला परेपछि जिल्ला प्रहरी परिसर काठमाडौं उनलाई पक्राउ गरी अनुसन्धान गर्ने निर्णयमा पुगेको हो । सोहीअनुसार प्रहरीले यही वैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट रायमाझीलाई पक्राउ गर्न अनुमति लिएको थियो ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

काठमाडौंमा पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग गृहजिल्ला अर्घाखाँचीमा एक सार्वजनिक कार्यक्रममा थिए । सुरुमा उनले प्रहरी अनुसन्धानमा सघाउने बताएका थिए ।