महेश त्रिपाठी : स्कुलको हल्कारादेखि फिल्मको हल्कारासम्म

काठमाडौं, २७ वैशाख  । हल्कारा अर्थात् गाउँमा चिठीपत्र आदानप्रदान गर्ने पात्र । देशविदेशबाट हुलाकमा आउने पत्रलाई सम्बन्धित् व्यक्तिको हातमा पुर्‍याउने र गाउँको चिठीलाई हुलाकसम्म पुर्‍याउने माध्यम । यही नामलाई टिपेर निर्माण गरिएको फिल्म ‘हल्कारा’ यही शुक्रबारबाट नेपालमा प्रदर्शन हुँदैछ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत भइसकेको यो फिल्ममा अभिनेता महेश त्रिपाठीले प्रमुख भूमिका अर्थात् हल्काराको भूमिका निर्वाह गरेका छन् । यो फिल्मसँग महेशको अभिनय मात्र होइन, उनको भावना पनि जोडिएको छ ।

गाउँमा हल्कारा

महेशले पोखराको कास्कीकोटस्थित कालिका माध्यमिक विद्यालयबाट २०५९ सालमा माध्यमिक तह पूरा गरे । उनले जीवनमा औपचारिक रुपमा हल्काराको जागिर त खाएनन्, तर अनौपचारिक रुपमा त्यो काम भने गरिरहे । ‘मेरो घर नजिकै विद्यालय जाने बाटोमा हुलाक छ । गाउँको चिठी आयो भने त्यहाँको हजुरबुवाले बोलाएर ‘तिमीहरुको गाउँको चिठी आएको छ, पुर्‍याइदिनु है’ भनेर हामीलाई चिठी दिनुहुन्थ्यो’, हालैको भेटमा महेश नोस्टाल्जिक बने, ‘त्यो समयमा मैले चिठी लेखिदिने, पढिदिने, लेखेको चिठी हुलाकमा छोडिदिनेसम्म काम गरें । निकै रमाइलो लाग्थ्यो । चिठीमा थुकले टिकट टाँसेर हुलाकमा लैजान्थे । यो क्रममा चिठी त कति पढियो पढियो ।’

भाग्यले फिल्मको हल्कारा

फिल्म पढ्न काठमाडौ आएपनि महेश तुरुन्तै फिल्ममा अभिनय गर्ने मनस्थितिमा थिएनन् । उनकै भनाईमा उनलाई फिल्मी अभिनयमा चासो पनि थिएन । तर ‘हल्कारा’को स्क्रिप्ट पढेपछि उनको मन फेरियो । ‘स्क्रिप्ट पढिसकेपछि अभिनय गर्न सक्छु भन्दा पनि यो फिल्ममा काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । मलाई ‘तँ कलाकार हुनसक्छस्’ भनेर यो स्क्रिप्ट मलाई पढ्न दिइएको थिएन । तर स्क्रिप्ट पढिसकेपछि शीर्ष चरित्रसँग लोभ लाग्यो’, महेश भन्छन्, ‘किनकि राम्रो कथामा स्क्रिनप्ले थियो । त्यो स्क्रिनप्लेमा आफूलाई समाहित गर्न पाए भने केही गर्नसक्छु भन्ने थियो । नभन्दै भाग्यले नै पाएँ ।’

चरित्रको तयारी

महेशले विद्यालय जीवनमा हल्काराको अनुभव लिए पनि कलेज जीवनमा त्यो अनुभव गर्न पाएनन् । उनले पोखरामै उच्च शिक्षा लिएर काठमाडौं छिरे पनि हल्काराको स्मृति दिमागमा ताजै थियो । फिल्ममै हल्कारा चरित्र निभाउनुपर्ने भएपछि उनले त्यसको तयारी गरे । ‘मैले शुन्य तहबाटै तयारी गरें । फिल्मको कथा मनपरे पनि त्यो चरित्रलाई कसरी निभाउने भन्ने दोधारमा थिएँ । विद्यालयमा थोरबहुत हल्कारा भए पनि पर्दामा त्यसलाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने अन्योल थियो’, महेश सम्झन्छन्, ‘अभिनय भन्दा पनि चरित्रलाई कसरी राम्रो बनाउने भन्ने मलाई थाहा थिएन । तर मेहनत गरेपछि सबै कुरा मिल्दोरहेछ ।’

फिल्मको लेखक र निर्देशक विनोद सापकोटा हुन् । त्यहीकारण महेशले चरित्र र कथालाई लिएर निर्देशकको बुझाई के हो भन्ने कुरालाई नजिकबाट नियाले । ‘चरित्रको परिस्थिति र उसका इच्छा, चाहना के हुन् भन्ने कुरालाई अध्ययन गरें । प्रमुख पात्र कथाको केन्द्रमा किन छ भन्ने कुरा थाहा पाएपछि भित्री रुपबाट चरित्रलाई विकसित गर्न के के गर्न सकिन्छ भनेर त्यसको अभ्यास गरें’ महेश खुले, ‘हल्कारा एउटा काम हो । त्यो काममा आफूलाई एक्स्प्लोर गर्ने प्रयास गरें । हल्काराको परिवेशमा बस्नेदेखि चरित्रको सोचलाई नजिकबाट नियालें ।’

सस्पेन्स र विश्वासिलो हल्कारा

महेश हल्कारालाई ‘सस्पेन्स’ र ‘विश्वासिलो’ चरित्र मान्छन् । उनको बुझाईमा मानिसले वरपरका व्यक्तिलाई शेयर नगरेका कुराहरु हल्काराको माध्यमबाट अन्य व्यक्तिलाई खबर पठाइरहेको हुन्छ । ‘हल्कारासँग हरेक कुराको सूचना हुन्छ । त्यो सूचना पाए पनि उसले सूचना कसैलाई बाँड्दैन’, महेश दाबी गर्छन्, ‘हल्कारालाई अहिले पनि समाजले विश्वास गरिहँदा हाम्रो फिल्मलाई पनि समाजले त्यसरी नै विश्वास गर्नुपर्छ जस्तो लाग्छ ।’

काठमाडौं नै विदेश

महेशका लागि काठमाडौं नै विदेश हो ।  उनले अहिलेसम्म वैदेशिक रोजगारीको अनुभव लिएका छैनन् । ‘म काठमाडौं आउँदा एकजना पनि मान्छे चिनेको थिइनँ । त्यो समयमा मेरा लागि काठमाडौं नै विदेश थियो । मैले काठमाडौंमा नै बसेर आफन्तसँग टाढिने, घर र आफन्तलाई मिस गर्ने अनुभव लिएँ’, महेश हाँस्छन् ।

युवापुस्तालाई इतिहासको पुनरावृत्ति

महेश फिल्म ‘हल्कारा’लाई इतिहासको पुनरावृत्ति मान्छन् । उनी वर्तमान पुस्ता सामाजिक सञ्जाल र इन्टरनेटको युगमा रमाइरहँदा उनीहरुका लागि ‘हल्कारा’ उसबेलाको जीवनशैली देखाउने माध्यम ठान्छन् ।

‘हल्कारा भावनात्मक पाटो पनि हो । किनभने भावना भनेको विश्वव्यापी चिज हो । संसारका जुनसुकै कुनामा बस्ने मानिसको भावना छ भने त्यहाँबाट हामी जोडिन सक्छौं । हल्कारामा चिठीपत्र मात्र छैन, मायाप्रेम छ, पारिवारिक विषयवस्तु छ युवाको बाध्यता र आकांक्षा छ’, महेश भन्छन्, ‘हामीले अमेरिकामा फिल्म देखाउँदा त्यहाँ फिल्मले अवार्ड जित्यो । हाम्रो कथाले त्यहाँ रहेका दर्शकको भावनालाई जोड्यो । उनीहरुले हामीलाई फिल्म राम्रो छ भनेर सन्देश नै पठाए ।’

फिल्ममा महेश त्रिपाठी, विनिता थापामगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको अभिनय छ ।