नक्कली शरणार्थी छानबिनमा सरकारले सरकारले हस्तक्षेप गर्नु हुँदैन : नेता खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नक्कली शरणार्थी छानबिनमा सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताउनुभएको छ । काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा आफ्नो पार्टीले साथ नदिने बताउनुभयो ।

उक्त घटनाको निष्पक्ष छानबिनमा सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध रहेको बताउनुभयो । कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही कार्यमा क्रियाशील रहेकामा चिन्ता व्यक्त गर्दै उहाँले कानून सबैलाई समान रहेकाले घटनामा उच्च ओहोदामा रहेका तथा सामान्य व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले ठूला तीन दलको छलफलपछि छानबिनलाई प्रभावित बनाएर केही दोषीलाई उन्मुक्ति दिने आशङ्का जनताले गरिरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कतिपय व्यवहारबाट आफ्नो पार्टी सन्तुष्ट नरहेकाले ध्यानाकर्षण गराउनु पार्टीको कर्तव्य रहेको बताउनुभयो । उहाँले अहिले साना छरिएका समान विचार भएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरी एउटा बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि छलफल चलिरहेको जानकारी दिनुभयो ।