रेशम चौधरीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

काठमाडौँ – सरकारले रेशमलाल चौधरीको बाँकी सजाय मिनाहा गर्दै आममाफी दिने भएको छ।आज बसेको मन्त्रीपरिषद् बैठकले पूर्वसांसद चौधरीको बाँकी सजाय मिनाहा गरेर जेलमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

‘रेशमलाल चौधरी, जो अहिले कारागारमा हुनुहुन्छ, जसको अस्ति भर्खर उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको अवस्था छ, राष्ट्रपति कार्यालयले सोधेका केही विषयहरू सम्बोधन गरेर राष्ट्रपति कार्यालयमा बाकी सजाय मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको छ,’ सरकारकी प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले भनिन्।

उनका अनुसार आजको मन्त्रीपरिषद् बैठकले यसरी सिफारिस गर्दा सरकारले कुनै कानुनी उलङ्घन गरिएको छैन। ‘हामीले विभिन्न कानुन व्यवसायसँग गरेको सल्लाह अनुसार कानुनतः ठिक छ भन्ने कुरा छ, अहिले हामीले यो निर्णय कानुन भन्दा बाहिर गएर गरेका छैनौँ’ उनले भनिन्।