साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भव : अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ ।
ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा आज एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई खादा र पुष्पगुच्छासहित सम्मान गर्नुभएको हो । अध्यक्ष ओलीले उहाँको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपाली र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताउनुभयो ।

उहाँले बुढामगरको सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गर्नुभयो । “हरि बुढामगरको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ । मानिसले साहस र सङ्कल्प गरे असम्भव देखिएका चिज पनि सम्भव हुन्छन”, उहाँले भन्नुभयो, “उहाँ अपाङ्गता भएर यताउता हिँड्न नसक्ने हुनुहुन्छ । तर सगरमाथा चढेर आउनुभयो ।”

अध्यक्ष ओलीले मगरले शारीरिक अपाङ्गता भएका मानिसको उचाइ सगरमाथामाथि थप्नुभएको भनाइ राख्नुभयो । “सबैका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । यो सफलता हामी सबै नेपालीको सफलता हो । विश्वकै साहस र सङ्कल्पको सफलता हो । केही गर्छु भन्ने अठोटको सफलता हो”, ओलीले भन्नुभयो ।

कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले दुवै खुट्टा नभएर विश्वको सर्वोच्च सगरमाथा चढेर मगरले नेपालका लागि खुसी र गर्वको विषय बनाउनुभएको बताउनुभयो ।

सफल आरोही मगरले अपाङ्गता भएका व्यक्तिलाई सहयोग र अवसर दिन आग्रह गर्नुभयो । उहाँले नेपाल र नेपालीको शिर सगरमाथा जस्तै उच्च राख्न सकेको बताउनुभयो ।

सगरमाथाको चुचुरोमा अपाङ्गता भएका व्यक्तिलाई पनि पु¥याइएको आफूलाई अनुभव प्राप्त भएको उहाँको भनाइ थियो । उहाँले अपाङ्गता जनजागरण ल्याउने र अपाङगता भएका व्यक्तिको सेवामा खटिने बताउनुभयो ।

रोल्पाको थबाङस्थित मिरुल घर भएका दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।