समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्नेछ : अध्यक्ष यादव

काठमाडौँ-जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै गठन भएको समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चामा रहेका कुनै दलबीच एकीकरण हुनसक्ने भए पनि मोर्चा नै दलको रूपमा भने नआउने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्नेछ, मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरूको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयमा सहकार्य हुन्छ ।”

अध्यक्ष यादवले यही असार १० गते आफ्नो पार्टीको विधान अधिवेशन सुरु हुने जानकारीसमेत गराउनुभयो । उहाँका अनुसार तीन दिनसम्म चल्ने उक्त अधिवेशनमा एक हजार प्रतिनिधि सहभागी हुने छन् । पार्टीको विधान मस्यौदासमेत तयार भइसकेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेका कारण उहाँ समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेकोसमेत बताउनुभयो । समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उहाँले बताउनुभयो ।

थप १८ विधान अधिवेशन प्रतिनिधि चयन -जसपाले आज थप १८ जनालाई विधान अधिवेशन प्रतिनिधि चयन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्घ तथा प्रदेशमा सांसद रहेका तर केन्द्रीय समितिमा नरहेका आठ र पार्टीको साधारण सदस्य तथा अन्य भ्रातृ सङ्गठनमा रहेकामध्ये १० गरी कुल १८ जनालाई थप प्रतिनिधिमा चयन गरेको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।

उक्त पार्टीको विधान अधिवेशन यही असार १० गतेदेखि काठमाडौँमा हुने भएको छ । विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुने जनाइएको छ । असार ११ गते ११ वटा विभिन्न समूह बनाएर छलफल गरिने छ भने १२ गते विधानमाथि नेताहरूले धारणा राख्ने कार्यकारिणी समिति सदस्य थापाले बताउनुभयो । अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ ।