प्रभासले रोकेका थिए आदिपुरुष दुई भागमा बनाउने निर्देशककाे याेजना

मुम्बई, ११ असार । फिल्म ‘तानाजी’ जस्ता सफल फिल्मका निर्देशक ओम राउतले जब ‘आदिपुरुष’को घोषणा गरे, त्यही बेलादेखि दर्शकमा एक किसिमको कौतुहलता थियो ।
तर फिल्म जब रिलिज भयो, त्यो कौतुहलतामा तुषारो नै लाग्यो । फिल्मले भारतमा मात्र होइन, विदेशमा पनि कडा आलोचनाको सामना गर्नुपर्यो । रिलिजको १० दिनपछि फिल्ममा रहेको विवादित संवाद हटाउँदा पनि विरोधको क्रम रोकिएको छैन ।

यो फिल्मलाई निर्देशक राउत दुई भागमा बनाउन चाहन्थे । फिल्ममा प्रभासको प्रमुख भूमिका रहेकाले प्रभाषले नै अभिनय गरेको ब्लकबस्टर फिल्म ‘बाहुबली’जस्तै ‘आदिपुरुष’लाई पनि दुई सिरिजमा बनाउन चाहन्थे । तर त्यो काममा प्रभासले नै अवरोध गरे । फिल्मको लम्बाई ३ घण्टा २० मिनेटको भएकाले पनि ओमले फिल्मलाई दुई भागमा निर्माण गर्न चाहेका थिए । लामो समयावधिको फिल्म हेरिरहँदा दर्शकलाई दिक्क लाग्ने उनको बुझाई थियो । त्यहीकारण उनी फिल्मको सुटिङ अझ एक महिना लम्ब्याउन चाहन्थे ।

यद्यपि प्रभासले ओम र फिल्मको टिमलाई फिल्मलाई दुई भागमा निर्माण गर्नु फिल्मका लागि सही नहुने दृष्टिकोण राखेका थिए । प्रभासको सुझाव पछि निर्माण पक्षले दुई भागको ‘आदिपुरुष’ बनाउने योजना रोकिएको थियो ।

६ सय करोडको लागतमा बनेको यो फिल्मले विरोधका बाबजुद बक्स अफिसमा तीन दिनमा ३ सय ४० करोड व्यापार गरेको थियो । तर सामाजिक सञ्जालमा फिल्मबारे गरिएको नकारात्मक प्रतिक्रियाले यसको व्यापारमा गिरावट आइरहेको छ । निर्माताले फिल्मको टिकट मूल्य घटाएर भए पनि लगानी उठाउने ध्याउन्नमा लागिपरेका छन् ।