अर्थतन्त्र किन चलायमान भएन ? सरकार गम्भीर बन्न जरुरी छ : सांसद विनोद चौधरी

काठमाडौं, १९ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले मुलुकको अर्थतन्त्रबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।उनले अर्थतन्त्रलाई चलायमान बनाउने गरी सरकारले नीति अंगिकार गर्नुपर्नेमा जोड दिए ।

मंगलबार प्रतिनिधिसभाको अर्थसमितिमा उनले भने, ‘सरकारको राजस्व उठ्ने तस्बिर हेर्दा अत्यन्तै डरलाग्दो छ । असार १७ गतेसम्म नौ खर्बको हाराहारीमा मात्रै राजश्व उठ्नु र हाम्रो साधरण खर्च नै १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति छ । हामी सबैले स्वीकार गरेका छौँ, अर्थतन्त्र अझै पनि चलायमान भएन ।’ सांसद चौधरीले अर्थतन्त्र चलायनमान नहुनु र लगानी नबढ्नुमा सरकार गम्भीर बन्नुपर्ने बेला आएको बताए ।

‘राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम पनि भयो । आयात बढेको छैन । तर पनि समग्र अर्थतन्त्र चलायमान किन हुन सकेको छैन ? लगानी किन हुन सकिरहेको छैन ? किन कस्ट अफ डुइङ बिजनेस घट्न सकिरहेको छैन रु सरकारको सबैभन्दा बढी चासोको विषय यही हो,” उनले भने, “आउने दिनहरूमा सरकारले गर्ने छलफल अर्थतन्त्रलाई चलायमान बनाउने र लगानी बढाउनेतर्फ हुनुपर्छ । आउने दिनहरूमा लगानीलाई कसरी प्रोत्साहन गर्ने र अहिले बैंकहरूसँग निक्षेप तथा कर्जाको रेसियो ८३ प्रतिशतमा छरेको छ, न्यूनतम ९० प्रतिशत हुनुपर्छ ।’

उद्योगपतिसमेत रहेका सांसद चौधरीले बैंकहरु तरलता बढ्दासमेत ऋण दिन नसक्नुका कारण सरकारले खोज्नुपर्नेमा जोड दिए । साथै राष्ट्र बैंकको नीति स्पष्ट हुनुपर्नेमा पनि उनको जोड थियो । ‘किन बैंकहरूले ऋण दिन सकिरहेका छैनन् ? बैंकहरूसँग ठूलो तरलता हुँदा पनि ब्याजदर किन घट्न सकेको छैन ? के हो राष्ट्र बैंकको नीति ?,’ उनले भने, ‘वित्तीय संस्थाहरू मुलुकको अर्थतन्त्र चलायमान बनाउने गरी बसेका हुन्छन् । त्यहाँ देखिएको एकप्रकारको अन्तरविरोधका विषयमा सरोकारवाला निकायहरूलाई पनि बोलाएर छलफल गर्नुपर्छ ।”