अमेरिकाको लुजियानामा गोली चल्दा ४ जनाको मृत्यु, ६ जना घाइते

न्युयाेर्क, २१ असार । संयुक्त राज्य अमेरिकाको लुजियानामा आयोजित एक ब्लक पार्टीमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित ६ जना घाइते भएका छन् । मङ्गलबार राति यहाँको श्रेभेपोर्ट क्षेत्रमा स्वतन्त्रता दिवस मनाउन भेला भएका मानिसहरु उक्त घटना भएको हो ।

श्रेभपोर्ट प्रहरीका प्रवक्ता सर्जेन्ट एन्जी विल्हाइटले मंगलबार राति मेलामा कम्तीमा १० जनामाथि गोली चलाउँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। प्रहरीले मृतकको नाम भने खुलाएको छैन र घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।

घटनास्थलमा सवारीसाधनको भीड भएकाले घटनास्थलसम्म पुग्न समस्या भएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा प्रहरीले घटनास्थलबाट धेरै टाढा गाडी पार्किङ गर्नुपरेको थियो । त्यसपछि प्रहरी र आपतकालीन स्वास्थ्य सेवाका कर्मचारी घटनास्थलमा पुगेका थिए ।