विमान अपहरणको कथामा ‘नाइन एनएबिबी’ चलचित्र बन्ने

काठमाडौँ-विसं २०३० मा नेपालमा भएको विमान अपरणका विषयमा आधारित रहेर चलचित्र ‘नाइन एनएबिबी’ निर्माण हुने भएको छ । चलचित्र निर्देशक विजय कार्कीले घोषणासँगै विषय मिल्दो पोस्टर सार्वजनिक गर्नुभएको छ । “लुकेका कथालाई बाहिर ल्याउनेछौँ । त्यो समयलाई पर्दामार्फत पूर्ण ताजा बनाउने छौँ”, निर्देशक कार्कीले भन्नुभयो, “यो घटनासँग जोडिएका र सरोकारवाला व्यक्तिहरूसँग सम्पर्कमा रहेर कथा तयार पारिरहेको छु । यसमा विमान अपहरणको योजना कसरी बन्यो र त्यसपछि के भयो भन्ने कुरा देखाइनेछ ।” उहाँले यसको कथा लेखनमै रहेता पनि निर्माण घोषणा गरिएको बताउनुभयो ।

‘म कथावाचक हुँ’ : अभिनेता खनाल- चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय नाम बनिसक्नुभएको छ, अभिनेता सरोज खनाल । तीन दशकको अभिनय यात्रापश्चात् उहाँ निर्देशक बन्नुभएको छ । छोटो चलचित्रको निर्देशन गर्ने योजना बनाए पनि विषयवस्तुले उहाँलाई ठूलो पर्दामै निर्देशक बनायो । त्यही कारण अभिनेता खनालको परिचयमा निर्देशक थपिएको छ । उहाँको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शनरत छ ।

यद्यपि योजना बनाएर नै निर्देशनको यात्रा प्रारम्भ नभएको उहाँले जानकारी दिनुभयो । “मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा पु¥याउनु पर्छ भन्ने लाग्यो”, अभिनेता खनालले भन्नुभयो, “यो कथा ममार्फत नै भन्नुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थे ।”

आफूलाई कथावाचक भन्न रुचाउने खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राख्नुभयो । किनकि उहाँहरू अभिनयमा पोख्त हुनाका साथै चरित्रअनुसार उपयुक्त हुनुहुन्थ्यो । तर, उहाँहरूलाई निर्देशन गर्न अभिनेता खनाललाई सहज भने थिएन । “मैले छायाङ्कनका क्रममा कुनै कलाकारलाई पनि अभिनय गरेर बुझाइनँ, भनिनँ । केवल चरित्र र दृश्यलाई सम्झाएँ”, अभिनेता खनालले भन्नुभयो, “नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाएँ । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।”

सयौँ चलचित्रमा अभिनय गरिसक्नुभएका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्त्वपूर्ण हुनुपर्ने बताउनुभयो । त्यसैले उहाँले एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्त्वलाई चलचित्रमा प्रस्तुत गर्नुभएको छ । आफैँसँग धेरै चलचित्रमा सहकार्य गर्नुभएकी अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गर्नुभएको छ ।

आउँदा दिनमा समेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने उहाँको योजना छ । यद्यपि उहाँले कलाकारितालाई पनि सँगै अगाडि बढाउने जानकारी दिनुभयो । चलचित्र ‘बगान’ मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गर्नुभएको छ । चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।