भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून सबैका लागि समान भएकाले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताउनुभएको छ । पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा उहाँले तत्थ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरू जो सुकै व्यक्ति भए पनि कानूनी कारबाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीलाई छाड्ने काम हुन्न, तथ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका जुनसुकै ओहदाका व्यक्ति तथा पार्टीका भए पनि कारबाही हुन्छ ।”

उहाँले राजनीतिमा रहेकालाई एउटा कानून र सर्वसाधारण नागरिकका लागि अर्को कानून नभएको भन्दै कानून सबैका लागि बराबर भएकाले दोषीलाई कारबाही भएरै छाड्ने आश्वासन दिनुभयो ।

दोषी र अपराधी नछुट्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेकाले भ्रष्टाचारी हुन् की होइनन्, दोषी हुन् की होइनन् भन्ने विषयमा निष्पक्ष छानबिन गरेर दोषीलाई कानूनी दायमा ल्याउन आफूले निर्देशन दिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “भ्रष्टाचारमा मुछिएका ठूलाबडा भनिएकाहरूलाई कारबाही नगरे के गरिब, निमुखाहरूलाई कारबाही गर्नु त ? भ्रष्टाचार गर्नेलाई कारबाही हुन्छ ।”

समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने भन्दै उहाँले कमिशनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जबर्जस्तरूपमा गाँजेको भनाइ राख्नुभयो । गृहमन्त्री श्रेष्ठले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्नुहुँदै आर्थिक सामाजिक रूपान्तरणको प्रक्रिया धेरै धिमा र मन्द गतिमा सीमित रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “भ्रष्टाचारको साङ्लोमा राजनीति बेरिएकाले त्यसलाई भत्काएर राजनीतिलाई सफा नगरी देश बदल्न सकिँदैन ।” समाजवादको आजको मोडल र ढाँचाबारे बहसकै रूपमा रहेको र समाजवाद निर्माणको बाटो के हो भन्ने पनि बहसकै रूपमा रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भ्रष्टाचार समाजवादका लागि मात्रै नभएर सिङ्गो लोकतन्त्रको चुनौतीका रूपमा रहेको बताउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले देशबाट भ्रष्टाचार पूर्णरूपमा नियन्त्रण गर्न हरेक पार्टी भित्रैबाट भ्रष्टाचार विरोधी अभियान शुरु गर्नुपर्ने बताउनुभयो । समाजवादको यात्रालाई ठिक ढङ्गले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयंलाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचार विरोधी लडाइँमा आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर सरकारलाई साथ दिइरहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराउनुभयो ।