बस्तीले भरिन लागे रामेछापका सहरी क्षेत्रका खेतीयोेग्य जमिन

रामेछाप-रामेछाप जिल्लाको सदरमुकाम मन्थली र अन्य पालिकामा उत्पादनयोग्य फाँटहरू घर तथा बस्तीले भरिन लागेका छन् । नेपालमा बस्ती विकास र व्यवस्थापनसम्बन्धी प्रष्ट कानून र दृष्टिकोण नहुँदा खेतीयोग्य जमिनमा घरहरू बन्ने क्रम बढेको हो । पछिल्लो पुस्ता खेती किसानीमा भन्दा पनि जागिर वा अन्य काममा आकर्षित हुन थालेपछि बस्ती बसाल्नुपर्ने गाउँ रित्तिँदै गई उत्पादनयोग्य जमिन भरिन लागेका हुन् । यसरी बस्ती बसाल्नुपर्ने डाँडापाखा भने दिनानुदिन खाली हुँदै गइरहेका छन् । जुनसुकै सहरी क्षेत्र वा सहरीकरण हँुदै गएका क्षेत्रमा यो समस्या नभएको भने होइन ।

देशको राजधानीलगायत मुलुकका ठूला सहर चितवन, हेटौँडा विराटनगर, जनकपुर, भैरहवा, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, सुर्खेत, बनेपालगायतका सहरमा बस्ती विकास हुँदै गएपछि उत्पादनयोग्य जमिन घरले भरिँदै गएका हुन् भने नयाँ विकसित हुँदै गएका सिन्धुलीमाढी, मन्थली, भकुण्डेबेँसी, खुर्कोटलगायत स्थानमा भने केही समयमै खेतीयोग्य जमिन सकिने अवस्था रहेको छ ।

सङ्घीयता लागू भएसँगै गाउँगाउँमै सिंहदरबार बनाउने सरकारको नीतिअनुसार हरेक पालिकामा पनि सहरीकरण भइरहेकाले गाउँका खेतीयोग्य जमिन पनि नष्ट भइरहेका छन् । खेतीयोग्य जमिन, त्यसमा पनि धान, मकै गहुँलगायतका वर्षमा तीन बाली लाग्ने जमिन मासेर धमाधम घर बनिरहेका हुन् । यसले पछिल्लो पुस्ताले खेतीयोग्य जमिन नदेख्ने हो की भन्ने चिन्ता लाग्न लागेको मन्थलीनगरपालिका–८ का स्थानीय कुमार खत्री बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “धान मकै फल्ने खेतमा घर फल्न लागेपछि के को उत्पादन हुनु र ताजा खानेकुरा खान पाउनु ?” यसअघिका मन्थलीका नगरप्रमुख रमेशकुमार बस्नेतले नगरपालिकाको उत्पादन क्षेत्रमा घर बनाउन नदिने घोषणा त गर्नुभयो तर त्यो कार्यान्वयनमा आउन सकेन ।

रामेछाप जिल्लाको सदरमुकाम मन्थली भञ्ज्याङमा विसं २०४५ मा सारिएको थियो । त्यसबेलादेखि हालसम्मको अवस्थालाई हेर्दा अधिकांश खेतीयोग्य जमिनतर्फ नै बस्ती बढेको पाइन्छ । मन्थलीमा उब्जनी नहुने जमिनतर्फ बस्ती त्यति फैलिएको पाइँदैन । उब्जाउयोग्य जमिनमा भने बस्ती फैलिँदै गएको छ ।

स्थानीयवासीले पनि खेत मासेर धमाधम घर बनाइरहेका छन् । यसअघि हाटेचौरको छेउमा मात्र घर भएको बस्ती विस्तार हुँदै खेतभित्रै छिरिसकेको छ भने आकाशे फाँट घर नै घरले भरिएको छ । यसैगरी खेतीयोग्य जमिनमा बस्ती विस्तार हुँदै जाने हो भने खेतीयोग्य जमिन सकिने अवस्था छ र खाद्य सङ्कट बढ्दै जाने त्यत्तिकै सम्भावना रहेको छ । खेतीयोग्य जमिनलाई जोगाउनेसम्बन्धी आवश्यक तयारी भइरहेको मन्थली नगरप्रमुख लव श्रेष्ठ बताउनुहुन्छ । तर खेतीयोग्य जमिनमा बस्ती बसाल्न हालसम्म कसैले रोक्न नसककोको मन्थली–१ का दीपक दाहाल बताउनुहुन्छ ।