मदनकृष्ण श्रेष्ठकी छोरी सरानाको निर्देशनमा तयार भयो बृत्तचित्र ‘पुनर्जन्म’

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले निर्माण गरेको अङ्गदान र अङ्ग प्रत्यारोपण सम्बन्धि चेतनामूलक बृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन गरिएको छ । काठमाडौंमा एक समारोहबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा उक्त वृतचित्र प्रदर्शन गरिएको हो ।

१५ मिनेट लामो उक्त वृत चित्रको निर्देशन सराना श्रेष्ठले गर्नुभएको हो । सराना वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी सुपुत्री हुनुहुन्छ । समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले स्वस्थ्य समाज निर्माणका लागि उपचारात्मक सेवाले मात्र सम्भव नहुने भएकाले रोग लाग्नै नदिन यस किसिमका जनचेतना जगाउने वृत चित्रहरूले पनि ठूलो भूमिका खेल्ने बताउनुभयो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपणको क्षेत्रमा उल्लेखनिय काम गरिरहेको स्मरण गर्दै यसको सेवा देशभरी बिस्तार गर्न र तत्काल विरामीको चापको आधारमा डाइलासिस मेसिनको सङ्ख्या थप्न मन्त्रालयले पहल गर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले नरम भएर मात्र नहुने अवस्था आएको बताउदै काम नगर्ने र खटाएको ठाउँमा नजाने चिकित्सक र स्वास्थ्यकर्मीलाई कडा कारवाही गर्न पनि आफू पछि नपर्ने मन्त्री बस्नेतले बताउनुभयो । आफूले दुई महिनाको छोटो समयमा विपन्नका लागि ३५ सय शैय्या निःशुल्क गरेको, सबै अस्पतालका १० प्रतिसत शैय्या विपन्नका लागि निःशुल्क गरेको, वीरमा ओपिडी बिहान ८ बजेदेखि सुरु गरेको लगायतका काम गरेको बताउदै सबैको सहयोग भए दुई वर्षभित्र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरेर देखाउने बताउनुभयो ।

वृतचित्र निर्माणको आवश्यकतामाथि प्रकाश पार्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्युपछिको अङ्गदानबारे भ्रम हटाउन, अंगदानका बारेमा उत्प्रेरणा जगाउन विभिन्न माध्यमहरूको प्रयोग गर्ने क्रममा बृत्तचित्रसमेत बनाइएको बताउनुभयो । उहाँले बृत्तचित्रले अङ्ग फेल हुने अवस्था, अङ्गदानको महत्वको बारेमा सरल ढङ्गबाट आम सर्वसाधारणलाई बुझाउन सहज हुने बताउनुभयो ।

बृत्तचित्रमा नेपालमा अङ्गफेल हुने अवस्था के छ ? मस्तिष्क मृत्युपछिको अङ्गदान र प्रत्यारोपणको अवस्था, मस्तिष्क मृत्युपछि पाएको अङ्गबाट प्रत्यारोपण गरेका र पर्खाइमा रहेका व्यक्तिहरूसँगको अन्तरसम्वाद मार्फत आम जनमानसमा मस्तिष्क मृत्युपछिको अङ्गदान र अङ्ग प्रत्यारोपणबारे बुझाउने कोशिस गरिएको छ ।

बृत्तचित्रका निर्देशक सराना श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदान कार्यमा अपेक्षाकृत मानिसहरूको सहभागिता नबढी रहेको र यसको एउटा मुख्य कारण जचनेतनाको अभाव हुनु हो भन्दै त्यसलाई चिर्नका लागि बृत्तचित्र सहयोगी हुने विश्वास व्यक्त गगर्नुभयो । कार्यक्रममा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि अङ्गदानका बिषयमा चर्चा गर्नुभएको थियो ।

मन्त्रालयका सचिव गुरागाईँले मस्तिष्क मृत्युपछिको अङ्गदान सम्वन्धी कार्यलाई अभियानको रुपमा देशव्यापी रुपमा फैलाउनु पर्ने भन्दै यसका लागि मन्त्रालयले आवश्यक कार्य गर्ने बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंहले आठ वर्ष लगाएर मस्तिष्क मृत्युपछिको अङ्गदान सम्वन्धी नीति बनाएको भन्दै त्यसको कार्यान्वयन आजको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ कलाकारहरू, चिकित्सकहरू, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।