मन्त्री ज्वालाद्वारा पूर्वाधार विज्ञसँग सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा छलफल

काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल गर्नुभएको छ । उहाँले सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर पूर्वाधार विज्ञ सुरेशराज आचार्य, मेघराज घिताल, प्राडा तारानिधि भट्टराई, बिबी देउजालगायतका विज्ञसँग छलफल गर्नुभएको हो ।

छलफलमा मन्त्री ज्वालाले भौगलिक विकटताले सडक निर्माणका क्षेत्रमा सडक सुरक्षामा देखिएका चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषय सरकार गम्भीर रहेको बताउनुभयो । सडक विस्तार गाउँबस्तीमा पु¥याउनुपर्नेमा जोड दिँदै उहाँले धेरै गाउँबस्ती चुरे र महाभारत शृङ्खलामा रहेकाले विस्तार गर्न र विस्तार भएका सडकको सुरक्षा गर्न चुनौती बढेको बताउनुभयो ।

मन्त्रालयका सचिव केशव शर्माले नेपालमा विगत र वर्तमानका सडक अवस्था, भौगोलिक सन्दर्भ, आगामी दिनमा सडकको सुरक्षा र स्थायित्व कसरी हुनसक्छ भन्ने विषयमा गरिएको छलफलबाट यस क्षेत्रमा थप सहयोग पुग्ने बताउनुभयो ।

छलफलमा विज्ञ टोलीले धेरै खर्चिलो भए पनि देशको भूगोलअनुसार सुरुङ मार्गमा जान सुझाव दिनुभयो । जति राम्रो सडक बनाए पनि बाढीपहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ । त्यो समस्या हल गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले सुझाव दिएको छ । छलफलमा मन्त्रालयका उच्च अधिकृतको पनि सहभागिता रहेको थियो ।