ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन

काठमाडौँ, ५ भदौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिनुभयो ।

सिआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरुसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान लिएको थियो भने सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो ।

बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरी हिनामिना भएको विषय हाल विशेष अदालतमा विचाराधीन छ । सिआईबीले सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा सरकारी कागजात तथा दस्तखत कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।