मन्त्री जोशीको निर्देशनपछि अस्पतालहरूको पार्किङ शुल्क हट्यो

चितवन-: बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको निर्देशनपछि जिल्लाका अस्पतालहरूले पार्किङ शुल्क हटाएका छन् । चितवन मेडिकल कलेजबाहेक सबै अस्पतालमा पार्किङ निःशुल्क गरिएको हो । मेडिकल कलेजले केही दिनभित्रै पार्किङ निःशुल्क गर्ने जनाएको छ ।

भरतपुर अस्पतालले पार्किङ शुल्क हटाएको छ । यसअघि नै अन्य अस्पतालहरूले पार्किङ शुल्क हटाएका थिए । केही दिनअघि भरतपुर आँखा अस्पतालले सूचना जारी गरी पार्किङ निःशुल्क गरेको थियो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, कलेज अफ मेडिकल साइन्सेसलगायतका साना अस्पतालहरूले पार्किङ निःशुल्क गरेका छन् ।

मन्त्री जोशीले गत साउन २ गते मन्त्रिस्तरीय निर्णय गरी ३ गते सबै अस्पतालहरूमा पार्किङ निःशुल्क गर्न पत्राचार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालै प्रादेशिक अस्पतालहरूमा निःशुल्क गरिएको थियो ।

सङ्घीय अस्पतालमा पार्किङ निःशुल्क गर्न सङ्घीय स्वास्थ्य मन्त्रीलाई आवश्यक निर्देशनका लागि अनुरोध गरिएको मन्त्री जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “बागमती प्रदेशभित्रका प्रायः सबै अस्पतालले पार्किङ निःशुल्क गरेका छन् ।” बाँकी रहेकाहरूलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।